चलचित्र “गाउँ आएको बाटो”


"गाउँ आएको बाटो" निकै राम्रो सामाजिक चलचित्र बनेको रहेछ । वास्तबमा गएको दुई दशकमा "पशुपति प्रसाद", "जात्रा", र "कागबेनी" पछि माटो सुहाउदो चलचित्र "गाउँ आएको बाटो" हेरियो । त्यो पनि बिशेष अनुरोधमा परदेशी सुनीमाया घरमा । वास्तबमा यी चलचित्र हेरे पछि लाग्यो अब नेपालमा Film industry ले नयाँ गोरेटो कोरेको महसुस भयो ।

"गाउँ आएको बाटो" हेरे पछि मेरो अनुभव यस्ता छन्:

१.     हजारौं वर्ष देखि नेपालका पुराना ज्ञान र शीप परिवार र समाजबाट सिकेर बच्न सिकेको अनुभव यो राई माइलाको जीवनीसँग समागम भएको थियो ।

२.     निगाला, लिबाँस र बाँसको चोया काडेर डोको, स्यागु, छाचुर जस्ता दैनिक जीवन चलाउने उत्पादन गरि बटौली बजार बेच्न लगेको र तराइमा घर-घर डुलाएर बेचेको यथार्थ जीवनसँग जोडिएको थियो ।

३.     बजारमा बेच्न लगेको सामान बिक्रि नहुदा उतै उधारो छोडेर फर्केको वा कहिले मेहनत पनि नउठ्ने गरि संस्तैमा बेचेर थोरै नुन, मसला अनि केहि अरु समान किनेर घर फर्केको आफ्नै यथार्थ घटनासँग मेल खाएको थियो ।

४.     फोस्राको पटुवाको नाम्लो र खरको डोरी बनाएर बजार बेच्न जाँदा उस्तै व्यथा यो चलचित्रसँग ट्वाक्कै मिलेको थियो ।

५.     अनि बनाएका मालसामान बिक्री हुन छोडे पछि भारत तिर कारखानामा काम गर्न जाने गरेको थुप्रै मेरा दाजुभाइको यतार्थ घटनासँग मेल खाएको थियो ।

६.     अहिले निगाला र बाँस सुकेर घारी नै मेटिन लागेको यथार्थ व्यथा छ । यो कुरा माइलाले चोया फालेर चोयाको काम नै छोडेको घटनाले दर्शाउछ ।

मेरो बिचारमा यो कथाका तीन महत्वपूर्ण पाटो अझ माथिल्लो स्तरमा पस्कन सकिने थियो:

१.     राई माइलाको शिप (बाँसको चित्रा) लाई प्लास्टिकको सस्तो त्रिपालले विस्थापन गर्दा माइलाको परिवारमा निकै पिडा भएको देखिन्छ यथार्थमा तर यो कथाको अन्य दैनिकी कुरा जस्तो सामान्यरुपा प्रस्तुत गरिएको छ । मसँगै चलचित्र हेर्ने अन्य दर्शकसँग प्रतिक्रिया लिंदा मेरो विचारसँग मेल खायो । सहायद मेरो जिन्दगीको मोड पनि यहि थियो । त्यसैले मेरो परिवारले मलाई चित्रा बुन्ने भन्दा पढेर देश विदेश जा भन्यो । अनि मेरो शिप र ज्ञान बिलायो र मेरा सन्तानलाई यो गन्धै थाहा भएन ।

२.     दोस्रो महत्वपूर्ण बिषय माइलाले आदिवासी ज्ञान रक्सि पार्ने र बजारमा बेची अलि-अलि आम्दानी गर्न खोज्दा प्रहरी खोरमा पुगेर छोड्न बाध्य भए । तर कारखानाका देशी बिदेशी दारु जतिपनि किनबेच गर्न मिल्ने कुरा निकै मार्मिक घटना भेटें । यो मोडलाई पनि सामान्य रुपमा प्रस्तुत गरेको लाग्यो । हुन त यो मेरो लागि निकै महत्वपूर्ण लागेको हुन सक्छ र अरुलाई सामान्य । यो मेरो लागि निकै महत्वपूर्ण turning point हो । ३६ बर्षको उमेरमा हाम्री आमा बिदुवा बने पछि भर्खर जन्मिएको छोरी सहित अरु ३ गरि जम्मा ४ सन्तानको रेखदेख गर्ने र हुर्काउने वहाँले जानेको पुरानो ज्ञान मध्ये यो निकै राम्रो ज्ञान थियो । यहि ज्ञानले  हामीलाई कापी, किताब, लाउने कपडा र खान जोहो गर्ने आधार थियो । त्यसैले मेरो लागि यो घटना चलचित्रमा कम्जोर देखियो ।

३.     अनि माइलाले फिपी सारै मेहनत गरेर बुन्छन् अनि बजारमा निकै दुख कष्ट गर्दै बेच्न कोशिस गर्दा आफ्नो एक फिपिको ५०० मा बेच्न खोज्दा पनि मेहनत उठेको देखिदैन तर प्लास्टिकको त्यस्तै सामान अर्को एक जनाले ५० रुपैयामा बेचेको र फिपी नबिकेर फिर्ता लिएर घर फर्किएको घटना निकै महत्वपूर्ण घटना देखें । यो पनि मेरो लागि जीवनमा घटेकै घटना हो । त्यसैले यो घटना पनि सामान्य रुपनामा प्रस्तुत गरेको लाग्यो ।

यी तीन मोड वास्तबमा अहिले पुरै देशको अवस्था झल्काउने घटना लाग्यो । वास्तबमा यो चलचित्र साँच्चै राम्रो कथामा निकै कुशलतापूर्वक chemistry मिलाएर बनाएको देखियो । Hollywood का चलचित्र पनि यस्तै हुन् । तर प्रमुख घटना जस्तै यी तीन लाई अलि उचाइमा (climax) पुराउन सकेको भए धेरै दर्शक आँशु थाम्न सक्ने थिएनन् भन्ने लाग्छ । मेरो त आफ्नै जीवनसँग मेल खाने घटना भेटें तै पनि मलाइ त्यति गहिरो छुन सकेन । तर चलचित्रले मेरो गाउँ पुराएको थियो । यो चलचित्रको सफल पाटो हो । तै पनि यी तीन घटनाले एक व्यक्ति, परिवार र समाजलाई परेको अझ गम्भीर असर उचाइमा देखाएको भए भन्ने लाग्छ । आगामी चलचित्र अझै राम्रो हेर्न पाइयोस् । निर्माता, निर्देशक र कलाकार सबैलाई धेरै धन्यवाद र बधाई ।

_Karna Rana

Comments

  1. Touchy review. The story, plot, and protagonist "Rai Maila" seem spellbinding. The art of reviewing is fabulous🌹🙏 I think there is no need to visit the theatre to watch movie because the review is worth reading for me. Thanks guru🌹🙏

    ReplyDelete

Post a Comment